पर्यटन र क्षेत्रीय प्रदूषणले नेपालको खुम्बु उपत्यकालाई दूषित बनाउदै गर्दा, अनुसन्धानकर्ताहरू भने जमिनमुनी पिउने पानीको स्रोतहरू खोज्नमा तल्लिन छन्।
भूगर्भविद् क्रिस्टेन निकोल्सन सन् २०११ ताका आफ्नो बुबासँग पहिलो पटक नेपालको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्न आउदा यहाँका दुरदराज गाँउका सुदूर बस्तिहरू, स्वच्छ पिउने पानीको पहुँच भन्दा पर रहेको बोध गरिन् ।
जब उनीहरू सगरमाथा आधार शिविरसम्म पदयात्रामा निस्किए, उनले यात्राको क्रममा भेटिने स्थानिय बासिन्दाहरूसँग त्यस क्षेत्रमा परेको वातावरणिय प्रभाव र उनीहरुले भोग्नु परेको चुनौतीहरूको बारेमा भलाकुसारी गरिन् ।
“जब म यहाँबाट फर्किए, मैले यस क्षेत्रका स्थानिय बासिन्दाहरूको जनजीवनमा प्रत्यक्ष सहयोग पुर्याउने परियोजनाहरू खोजीरहेका व्यक्तिहरूलाई ईमेल गरेँ,” निकोल्सनले भनिन् । निकोल्सन हाल बल स्टेट युनिभर्सिटीमा प्रध्यापकको रुपमा कार्यरत छिन् र थुप्रै खोज अनुसन्धानत्मक परियोजनामा सक्रिय रुपमा लागिरहेकी छिन् जस मध्ये सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रका स्थानिय वासिन्दाहरूलाई सफा पिउने पानी सर्व सुलभ रुपमा पुर्याउनु पनि एक हो।
सन् २०१४ मा निकोल्सनले आफ्ना सहकर्मीहरुसँग पहिलो पटक सगरमाथा क्षेत्रमा व्यवस्थित तरिकाले पानीको गुणस्तर मापन गरे । त्यसपछिका वर्षहरूमा गरिएका अन्य गुणस्तर मापनका तथ्याङ्कहरूलाई समेटि सन् २०२० मा उनिहरुले अन्तिम नतिजा प्रकाशित गरे जसमा जलवायु परिवर्तनले गर्दा हिम नदीहरू घट्ने क्रममा रहेको र हिमालको हिउँ पग्लने क्रम बढ्दै जाँदा सगरमाथा क्षेत्रको पानीको गुणस्तरमा गम्भिर प्रभाव पारेको पाइयो ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, विश्वको सर्वोच्च शिखर सगरमाथा घुमफिर गर्न इच्छा राख्नेहरू बिच एकदमै चर्चित छ, वर्षेनी पचासौँ हजार आगन्तुकहरु यहाँ आउने गर्छन् जुन यस भूगोलमा बसोबास गर्ने कुल स्थानिय जनसंख्याको ६ गुणा भन्दा बढी हुन आँउछ। पर्यटकको आगमनसँगै मानिसहरूको भिडभाड र प्रदूषण पनि सँगै आउछ जस्ले गर्दा हिउँ पग्लेर पहाडका बेँसीमा बग्ने कंञ्चन पानीको गुणस्तरमा समेत असर गर्ने खतरा बढेको छ ।
खुम्बु उपत्यका भित्र पर्ने प्रमुख बजारहरू जस्तै नाम्चे बजार, थामे र खुम्जुङ् बजारमा स्थाइ बसोबास गर्ने समुदायहरू यस परिवर्तनको सबैभन्दा बढी जोखिममा पर्ने देखिन्छ । निकोल्सनको समुहले गरेको परिक्षणहरू मध्ये २९ ओटा सामुदायिक रुपमा पिउने पानीको स्रोतहरू र ५ वटा सहतमा बग्ने पानीको स्रोतहरू थिए । यस परिक्षणबाट समुन्द्र सतहबाट कम उचाईमा रहेको र जनसंख्याको दृष्ट्रिकोणमा बढी घनत्व भएका तल्लो भू-भागका पानीका मुहानहरू सापेक्षित रुपमा बढी प्रदूषित तथा ब्याक्टेरियाको मात्रा पनि अधिक रहेको पाईयो साथै भूमिगत पानीले सिञ्चित गर्ने पानीको स्रोत भन्दा सतहमा बग्ने पानीका स्रोतहरू बढी प्रदूषित रहेको निष्कर्ष निस्कियो ।
पछिल्ला केही दशकमा सगरमाथामा महत्वपुर्ण परिवर्तनहरू देखिएका छन्
पहिलो पटक सन् १९७३ मा २१ वर्षको उमेरमा सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेदेखी आज पर्यन्त एल्टन सी. बायर्सले यस क्षेत्रमा थुप्रै परिवर्तनहरू देखिसकेका छन् ।
कोलोराडो बोल्डर विश्वविध्यालय अन्तरगर्त आर्टिक तथा अल्पाइन अनुसन्धान संकायमा वरिष्ठ खोजकर्ताको रुपमा आबद्ध रहेका बायर्सले यस क्षेत्रमा बसोबास गरेका आदिवासी समुदायको जनजीवनमा आमूल परिवर्तन ल्याउन पर्यटन व्यवसायको अहम् भुमिका रहेको जिकिर गरेका छन् ।
“आधुनिकीकरणसँगै स्थानिय जीवनशैलीलाई परिवर्तन गर्नुको साथै परम्परागत कृषि तथा पशुपालनमा आधारित जीवन पद्धति प्रतिस्थापन हुनुमा पर्यटन व्यवसायको ठुलो भुमिका छ,” बायर्सले भने ।
सन् १९७३ ताका, राष्ट्रिय निकुञ्ज भित्र पर्ने नाम्चे बजार, आसपासमा परम्परागत शेर्पा-तिब्बती शैलीका, चट्टानहरूबाट बनाइएका दुइतले घरहरू थिए जसको भुईतलामा पशु चौपाँयहरू पाल्न प्रयोग गरिन्थ्यो भने उपल्लो तला मानिसहरू बसोबास गर्न उपयोगमा आउथ्योँ ।
“तर अहिले नाम्चे बजारको स्वरुप नै फेरिएको छ,” बायर्षले भने, “पुरै कायपलट भएको छ।” नाम्चे बजरमा हाल करिब ६५ बाट अत्याधुनिक, अन्तराष्ट्रिय स्तरका सुबिधासम्पन्न लजहरू खुलेका छन् जसमा फ्लस गर्न मिल्ने आधुनिक शौचालय, नुहाउन, धुनको लागी अविछिन्न बहने पानीको व्यवस्था छ । बायर्सको भनाई अनुसार करिब दुई दशक अघिमात्र सगरमाथा आधार शिविरसम्म पदयात्रामा निस्किनु भनेको चौरीहरूलाई बस्न बनाईएको छाप्रो अर्थात गोठमा वास बस्न जाने भन्ने बुझिन्थ्यो ।
“एकदमै आदिम खालको बँसाई, यतिसम्म कि खानको लागी आलु पाउनु पनि चौँरी गोठालाहरूसँग बचेर रहेको हुनुपर्थ्यो” बायर्स सम्झन्छन् ।
बायर्सका अनुसार अहिलेका यी आधुनिक सुविधा र व्यवस्थाहरू नै यस क्षेत्रमा देखा परेको भूमिगत जलस्रोतको प्रदुषणको कारक बनिरहेका छन् । परम्परागत शेर्पा घरहरुमा मलमुत्रलाई विसर्जन गर्न सामुदायिक शौचालयहरूको निर्माण गरिएको हुन्थ्यो जस्लाई स्थानिय भाषामा चर्पी भन्ने गरिन्छ । यस्ता चर्पीहरू मुलतः घरबाट टाढा बनाइएको हुन्थ्यो र यसको प्रयोग पश्चात यसलाई रुखका पात पतिङ्गरहरूले ढाकेर छोडिन्थ्यो र अन्ततः यो प्राङ्गारिक मलमा परिणत हुन्थ्यो । “यस्ता चर्पीहरू मुख्यगरी खोला किनारका खाली जमिनमा बनाईन्छ,” बायर्सले भने, “यसरी चर्पीका लागी छानिएका स्थानहरूले केवल सतहमा बग्ने नदीका पानीहरूलाई मात्र दूषित गर्ने गर्दछन् ।”
तर अहिले आधुनिक भनिएको ढल व्यवस्थापन प्रणाली, प्रयोग गर्न सुविधासम्पन्न त पक्कै छ तर यस क्षेत्रमा उपलब्ध पिउने पानीको गुणस्तरको लागी भने कदापि फलदायक छैन् । बायर्स भन्छन् “ फ्लस गर्न मिल्ने आधुनिक शौचालयहरू सिधा सेफ्टी ट्याङ्कसँग जोडिएका छन् जसबाट निरन्तर चुहावट भइरहेको छ । यसरी हरेक सेफ्टी ट्याङ्कहरूबाट हुने चुहावटले यहाँ उपलब्ध हुने भूमिगत पानीमा निरन्तर प्रदूषण गरिरहेको छ ।”
वातावरणीय प्रभाव समान रुपमा अनुभुत भईरहेको छैन्
मेन विश्वविध्यालयमा कार्यरत जलवायू परिवर्तन विज्ञ पल एन्ड्रयु मयेवस्की भन्छ्न्, “एसिया तथा युरोपियन महादेशबाट आउने अधिकाम्शं प्रदूषणहरू हिमालयमा आएर थिग्रिने गर्छन् ।”
“हिउँद याम सुरू भएसँगै जब हिऊँ पग्लन सुरू गर्छ, उत्तरी ध्रुवका मानिसहरूले उत्सर्जन गरेका प्रदूषणका कणहरू जो हिऊँसँगै थिग्रिएका थिए, ति पनि पग्लन सुरू गर्छन् ।”
मयेवस्कीले सगरमाथा क्षेत्रका थुप्रै खोज-यात्राहरूको नेतृत्व गरीसकेका छन् र विगतका केही दशकयता यस क्षेत्रका स-साना गाँउ तथा वास बस्ने स्थानहरूमा आएको परिवर्तनबाट उनी आश्चर्यचकित परेका छन् । “ यस क्षेत्रमा भित्रिने र बाहिरिने हवाई उडानहरू अस्वाभाविक रुपले बढेको छ,” उनी थप्छन्, “बढ्दो जन घनत्व र फस्टाउँदो पर्यटन व्यवसायले गर्दा यस भु-भागमा प्रदूषण र संक्रमणको जोखिम झनै बढेर जाने छ ।”
बायर्सका अनुसार खुम्बु क्षेत्रमा सफा पिउने पानीको अभाव पहिले देखी नै रहँदै आएको छ । “सन् १९८४ मा, विध्यावारिधि गर्ने क्रममा म एक वर्ष खुमजुङ् गाँउमा बसेको थिए, त्यसबेला पनि उक्त गाँउमा पिउने पानीको चरम संकट थियो,” उनी थप्छन्, “ विशेष गरी हिमश्रृङ्खलाहरूको वृष्टी छाँया क्षेत्रमा अर्थात हिमालको पछाडीको भूभाग जहाँ ज्यादै कम पानी पर्ने गर्छ, अबस्थित गाँउहरूमा स्वच्छ पिउने पानी सर्वसुलभ तरिकाले पाउन ज्यादै मुस्किल पर्ने गर्छ ।”
विगत २० वर्षदेखी काल्साङ शेर्पा र उनको परिवारले खुम्बु उपत्यकाको खुम्जुङ गाँउमा लज सञ्चालन गर्दै आएका छन् तर उनको परिवारले आजसम्म पनि पानीको अभाव महसुस गर्नुपरेको छैन् किनकी उनीहरुको गाँऊमा पुरै समुदायलाई पुग्ने गरी पानीको मुल/खोल्सी बगिरहेको छ । उनीहरुले बढ्दो पर्यटकको चापले वातावरणमा परेको असर महसुस त गरेका छन् तर त्यसको गम्भिर मारमा परेका छैनन् ।
यस क्षेत्रमा अबस्थित सरकारी निकायहरू पनि समुदायले भोग्नु परेको चुनौतीहरूबारे अनविज्ञ छन् । “हामीलाई खुम्बु उपत्यकाको पानीमा प्रदूषण मिसिएको समस्याबारे खासै जानाकारी छैन् ,” खुम्बु गाँउ पालिकाका मेयर मिङ्मा छिरी शेर्पाले भन्नुभयो । त्यस भूभागका अधिकाम्शं पानीका स्रोतहरू मानव बस्तिबाट धेरै माथी रहेकाले पनि ती पानीका मुहानहरु स्वच्छ, सफा र पिउनलाई सुरक्षित छन् भने उहाँको विश्वास छ ।
पालिकाले आफ्नो सक्रियतामा विभिन्न स्थानहरुमा थुप्रै पिउने पानीका आयोजनाहरू सञ्चालन गरेको छ जस अन्तरगर्त पानी छान्ने प्रविधिको स्थापना पनि एक हो तर यी प्रयासहरू भने प्रयाप्त छैनन् । “सायद अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययन अनुसन्धानको नतिजाहरू स्थानिय सरकार तथा स्थानिय बासिन्दाहरूसँग साझा गरेका भए ती समस्याहरुसँग जुझ्न र तिनको समाधानको लागी आवश्यक कदम चाल्न उपयोगी सिद्ध हुने थियो,” उनी थप्छन, “हामी अनुसन्धानकर्ताहरूसँग बसेर उहाँहरूको निष्कर्षमा छलफल गर्न र हाम्रो क्षेत्रमा विध्यामान पानीको गुणस्तरको समास्या समाधान गर्नुको साथै वातावरणीय स्वास्थ्य सुधार सम्बन्धित आवश्यक कदम चाल्न सधै अग्रसर छौँ ।”
चुलिदो संकटको समाधान खोजी
बल स्टेट विश्वविध्यालयका भू-गर्भविद् क्रिस्टेन नोकोल्सनसँग काम गरीरहेकी स्नातक तहमा अध्ययनरत चासालिन कोबको अनुसार उनीहरूको अनुसन्धान टोली पछिल्लो समय समुदायको लागी आवश्यक स्वच्छ भूमिगत पानीको स्रोतको खोजीमा केन्द्रित रहेका छन् । “भूमिगत पानीको यस्तो वैकल्पिक स्रोत जुन प्राकृतिक रुपमै छानिएर बसेको होस् अनी सतहमा बग्ने पानीको कुनैपनि स्रोतसँग संमसर्गमा नआएको वा प्रदूषित नभएको होस् ,” उनले भनिन्।
यसका लागी निकोल्सनले आफ्नो बल स्टेट विश्वविध्यालयका सहकर्मीहरूसँगै, काठमाण्डौँ विश्वविध्यालय, नेपाल र अन्य थुप्रै साझेदार संस्थाहरू जस्तै ‘एक्सन फर नेपाल’, ‘द हिमालयन ट्रस्ट’ र ‘जिओसाईन्टिस्ट विद्आउट बोर्डर’ संगको साझेदारी मा खुम्बु उपत्यकामा पहिलो पटक ईलेक्ट्रिकल रेसिस्टिभिटी टोमोग्राफी (ईआरटी) सर्वेक्षण गरिन् जुन जमिनको स्वारुपलाई नबिगारी अर्थात नन् इन्भासिभ विधिबाट सतहमुनी रहेको भूमीगत जलको जानाकारी लिने प्रणाली हो ।
“यस विधिमा जमिनको सतह मुनि विधुतीय करेन्ट प्रवाह गरिन्छ भने सतहमुनि रहेका विभिन्न पदार्थहरूको विधुत प्रवाहलाई रोक्ने क्षमता अर्थात वस्तुको अवरोधताको मात्रा मापन गरिन्छ । हरेक वस्तुबाट विधुत प्रवाह हुने दर वस्तु अनुसार निर्भर गर्दछ । सम्पुर्ण तथ्याङ्कहरू एक केन्द्रिकृत कम्प्युटर प्रणालीमा संकलन हुन्छन् र अन्तमा यसले एक आकर्षक जानाकारी मुलक नक्शा तयार गर्दछ,” कोबले भने, “ नक्सामा जुन भागमा विधुत प्रभावको अवरोधको मान कम देखिएको छ भने उक्त क्षेत्रमा भूमिगत पानीको सम्भावना बढी रहेको इन्कित गर्दछ ।”
सन् २०२३ को एक अध्ययन अनुसार, उक्त अध्ययन समुहले चारवटा सम्भावित भूमिगत पानीका स्रोतहरू फेला पारे जुन स्थानिय समुदायहरूले आफ्नो पिउने पानीको अभावलाई केही हदसम्म परिपुर्ती गर्न उपयोग गर्न सक्नेछन् । कोबले भनिन् , “नाम्चेमा प्रसस्त पानीका मुहानहरू छन् र यस्ता पानीका स्रोतहरु पहाडका उपल्लो भेगसम्म फैलिएका छन् र सम्भवतः तिनलाई सजिलै प्रयोगमा पनि ल्याउन सकिन्छ जस्को स-प्रमाण हामीले पेश गरिसकेका छौँ ।”
निकोल्सन र कोबले यस कार्यलाई अझ बिस्तृत रुपमा जारी राख्ने योजनामा थिए, विशेषगरी कम्प्युटर जडित उपकरणले मापन गरेका सतहमुनिका विसंगतिहरू भूमिगत पानीको संञ्चय स्थान हो वा होइन, पत्ता लगाइ निर्कोल गर्न चाहान्थे तर प्रयाप्त आर्थीक सहायताको अभावमा हालको लागी उक्त कार्यको संञ्चालनलाई थाती राख्नु परेको छ ।
“सम्भवतः हामी आगामी वर्ष पुन फर्कनेछौँ तर अहिलै यसै भन्न सकिन्न,” निकोल्सनले भनिन् , “इआरटी गर्ने उपकरण नेपाल ल्याउनु र अध्ययन स्थलसम्म पुर्याउन ज्यादै खर्चिलो छ, त्यसैले हामीमा जहिलै अभाव खट्किरहन्छ ।”
कोबले बताएअनुसार अध्ययन स्थलमा उपकरणहरू तयार पार्न निकै समय खर्चिनु परेकाले यसले सर्वेक्षण सम्पन्न गर्नसक्ने संख्यामा प्रत्यक्ष असर गरेको छ । “हामीले बढिमा दिनको दुईवटासम्म सर्वेक्षण गर्न सकेका छौँ ।”
वैकल्पिक पानीका स्रोतहरू खोजी गर्नुको बदला त्यहाँ खेर गइरहेको धमिलो पानीलाई ढल प्रणालीवाट शुध्दिकरण गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ भन्ने बायर्सको सुझाव छ । उनले भने, “ हरेक वर्ष लाखौँ लिटर पानीलाई प्रदूषित पानी भनेर खेर फालिरहेका छौँ, उचित प्रशोधन विधि अपनाउन सके तत्कालिन समयमा खट्किएको पिउने पानीको चरम अभवलाई केही हदसम्म कम गर्न सकिने थियो ।”
स्तरीय ल्याण्डफिल्ड र व्यवस्थित ढल निकासको व्यवस्था साथै किफायती फोहोर मैला व्यवस्थापनको अभ्यास गर्न सके यस क्षेत्रमा पर्यटनको बढ्दो नकरात्मक प्रभावलाई उल्लेखनीय रुपमा कम गर्न सकिनेमा कोबको विश्वास छ । तर नियमनकारी संस्थाहरुले नै खुकुलो तरिकाले नियमहरू लागु गराउदा उक्त क्षेत्रमा पानीको उचित व्यवस्थापन गर्ने सम्पुर्ण भार स्थानिय बासिन्दाहरूको काँधमा थुप्रिएको छ ।
उनले भनिन्, “यदि हामीसँग प्रशस्त अनुदान हुन्थ्यो भने र उपल्लो तहका अधिकारीहरूबाट कडा नियमन हुन्थ्यो भने यो जल्दोबल्दो समस्यालाई समाधान गर्न सबैलाई सहज हुने थियो ।”
निकोल्सनको भनाई अनुसार यस क्षेत्रका शेर्पाहरूले आफ्नो बलबुताले भ्याएसम्म आफ्नो भूगोलको वातावरणीय चुनौतीहरूसँग जुझ्न हरसम्भव प्रयास गरिरहदा यहाँ आउने पर्यटकहरु भने आफ्नो क्रियाकलापबाट प्राकृतिक पर्यावरणमा पर्ने असरबारे अनविज्ञ छन् । “पर्यटकहरू सापेक्षित रुपमा सम्पन्न छन्, उनीहरुले चाहेमा यस क्षेत्रको पुनउत्थान गर्न आवश्यक पर्ने शुल्क खर्च गर्न पनि सक्षम छन् ।”
तर अहिलेसम्म पर्यटकको प्रतिक्रिया सकरात्मक रहेको छ । “ मानिसहरू ती पहलहरूलाई समर्थन गर्न लाग्ने थप अतिरिक्त शुल्क तिर्न इच्छुक छन्, ” निकोल्सनले भनिन् “ मलाई लाग्छ कुराहरू सहि दिशामा अघि बढिरहेका छन् ।”