होन्डा युनिकर्न १६० सि.सि बाईक पछाडीको सिटमा कक्रिएर, समुन्द्र सतहबाट ५२०० फिट उचाईका घुमाउरा बाटोहरुमा हुँइकिरहदा मेरो मस्तिष्कमा एउटै कुरा घुमिरहेको थियो “ओहो ! गल्ति पो गरियो कि ? आखिर किन मैले कलेजको आन्तरिक परिक्षा छोडे? के मध्ये नेपालको सुदुर भिराला पहाडका जङ्गलहरुसँग पैठेँजोरी खेल्न?” प्रश्न अनुत्तरित थियो ।
पूर्वी आकाशको उदाउदो सुर्यले क्षितिजलाई सुन्तला रङको क्यानभासमा उत्तारेको झैँ रंगको होली नै खेल्दै थियो । बिहानीको पहिलो किरणलाई स्पर्श गर्न नपाउदै मेरा आँखा अगाडीका दृश्यहरु धमिला थिए । माघको मध्यजाडोमा हुँइकिरहदा मेरा आँखाहरु रसाइरहेका थिए, कान चिसोले कठ्ङ्ग्रिएको थियो । शिरको पातलो ऊनिको टोपिले चिसो हावालाई थेग्न सकिरहेको थिएन । चिसोले हात पनि सायद जम्नै मात्र बाँकि थियो । “छ्या, यो टोपी पनि के साह्रो पातलो लाएछु । धेत्तेरी!” टोपीको एउटा फुर्को तान्दै म केवल पछुताईरहे ।
बिहानीको चिसो सिरेठोलाई चिर्दै बाईक बेपत्तासँग हुइकिरहेको थियो । हावाको चिसो वहाबलाई छेक्न म साथी प्रकाश पौड्यालको पिठिँऊ पछाडी आफुलाई लुकाउने सक्दो प्रयास गरिरहेको थिए । कच्ची बाटोमा बाईक थोरै हलचल हुँदा पनि मित्रलाई दरोसँग समातेर सकेसम्म आफुलाई स्थिर राख्ने कोसिस गरिरहे ।
आन्तरिक परिक्षालाई बिचमै छोडेर प्रोफेसरहरुको विश्वासलाई धोका दिने मेरो कुनै मानसिकता थिएन तर प्रकाश स्वंयमले फोन गरेर यो भ्रमण अनि अध्ययनको औचित्य बुझाएपछि भने मैले आफुलाई रोक्नै सकिन । हुन त सरकारी कलेजहरुमा हुने आन्तरिक परिक्षा केबल औपचारित्ताको लागी मात्र हुने गर्छन् त्यसमाथी मेरो साथमा प्रकाश थियो जस्ले यस्ता धेरै परिक्षालाई छोडी छोडी यस्ता कार्यमा संलग्न थियो । काठमाण्डौँ अवस्थित ‘ग्रिनहुड’ नामक गैर नाफामुलक जैविक विविधता संरक्षण संस्थानमा प्रकाश जस्ता थुप्रै बाहदुर साथीहरु थिए जो यस्ता परिक्षाको भुतलाई पन्छाउन सक्थे । सायद म ती बहादुरहरु जतिको बहादुर थिइन की?
म ‘सञ्जय पौडेल’लाई सम्झिन्छु जो प्रकाशको साक्खै भाईखलक पर्छ र उ पनि ‘ग्रिनहुड नेपाल’मा लामो समय देखि संलग्न छ । उ भन्ने गर्थ्यो, “पट्यार लाग्दा लेक्चरहरु लिनु र फगत किताबी किरो हुनुभन्दा आफुलाई भित्री मनदेखि लागेको कुराहरू गरेकै बेस लाग्छ यार । त्यसैले म कलेज त्यति जादिॅन ।” कलेजका कक्षाहरुमा उसको उपस्थिति न्यून नै थियो । हामी एउटै कलेजमा पढेपनि उसँग खासै भेट कहिल्यै भएन । पछी ग्रीनहुडमा नै चिनजान भयो । सन् २०१२ मा ग्रिनहुड नेपालको स्थापना हुदा उसको अंकल ‘कुमार पौडेल’ सह-संथापक थिए र त्यहि समयदेखि सञ्जय पनि संरक्षण गतिबिधिमा अघि बढे । यसरी वातावरण संरक्षणको क्षेत्रमा केहि गर्छु भन्नेहरुको लागि ‘ग्रीनहुड नेपाल’ एउटा हब बनेको रहेछ । दुइपाङ्ग्रेमा बसी सयौं माइलाको यात्रा तय गर्नु, संरक्षणका विषयमा वकालत गर्नु र कठ्यांग्रिदो चिसो हावामा रमाउन सक्नु उनीहरुको लागी कुनै नौलो कुरा पक्कै थिएँन ।
आज प्रकाश र मेरो यात्राको गन्तव्य पनौती नगरपालिकाको भुमिडाँडा क्षेत्र थियो जहाँ हामीले हाल नेपालमा संकटापन्न अवस्थामा रहेको ‘लौठ सल्ला’ अर्थात ‘ट्याक्सस माइरेई’ को तथ्याङ्क संकलन गर्नुपर्ने थियो । यो यस्तो किसिमको सल्लाको प्रजाति हो जसको नामकरणको विषयमा बर्षौ देखि सरोकारवालाहरुको नै फरक-फरक मत रहेको छ । यसलाई कुनै समयमा युरोपमा प्रसस्त पाइने ‘टाक्सस बाकाटा’ भनियो पछी दक्षिण-पश्चिमी एसियाली भूभागमा पाईने अर्को सल्लाकै एक प्रजाती ‘टाक्सस वालिचियना’ मानियो जस्लाई रैथाने हिमाली सल्ला पनि भनिन्छ । त्यसैले यसको संरक्षणमा खासै धेरै चासो दिइएको पाइदैन । डी. एन. ए. बार कोडिङ प्रविधिबाट यसलाई माथि उल्लेखित प्रजाति भन्दा फरक हो भनेर छुट्याउन सफल भएता पनि सरोकारवालाहरु बिच नामको विवादको टुंगो अझै लागेको छैन ।
अघिल्लो दिन मात्रै प्रकाशले मलाई फोन गर्दा भनेको थियो की ‘टाक्सस माइरेई’मा हामीले गर्न लागिएको यो सर्भे नेपालमा यस प्रजातिमा गर्न लागिएको पहिलो सर्भे हुनेछ । “मलाई लाग्छ यस प्रजातिको सल्लाको संख्या पुरा देशभरमै ज्यादै न्यून छ, तर त्यो न्यून भनेको कति हो ? बेहिसाब छोडिएका सल्लाहरुको गन्ति यो सर्भेबाट थाहा पाउन सकिन्छ, ” प्रकाश भन्थ्यो ।
“ओहो ! महत्वपूर्ण कुरा नै पो रहेछ ।” सायद म यो अनुसन्धानमा सामेल हुनैपर्छ, मलाई लाग्यो । त्यसको २४ घण्टा नबित्दै म होन्डा बाइकको पछाडी कक्रिएर आफुलाई सराप्दै भुमिडाँडातिर हान्निए । अब समय हातबाट छुटीसकेको थियो र फर्किएर परीक्षा दिन जान सकिने कुरा पनि थिएन ।
भुमिडाँडा यात्राको बाटो त्यति सहज थिएन । गाउँको बाटो, धुलो र खाल्टाखुल्टिले भरिएको सडक । अरनिको राजमार्ग हुदैँ बनेपा सम्म र त्यसपछि पुरातात्विक महत्व बोकेको पनौती शहरलाई एकफेरो लगाएर हामी दक्षिण-पश्चिमतिर लाग्यौँ । रोशी क्षेत्र नजिकै पुग्दा देखिएका अब्यवस्थित ढुङ्गा खानी र कुरुप पहाडको दृश्यले हाम्रो आङ नै शिरिङ्ग भयो । लथालिङ्ग ढलेका रुखहरु, निर्जन गाउँका बस्तीहरु र रित्ता घरहरु देखेपछि यस्तो लाग्यो की यो क्षेत्रमा भईरहेको खानी उत्खननले पर्यावरण साथै सामाजिक वातावरणमा प्रतिकुल असर पारेको रहेछ । प्रकृति माथिको दोहनले जङ्गल र बस्तिहरू त उजाडियो नै माइरेई यीउ जस्ता सकटापन्न अबस्थाका बनस्पतिको त झन के हाल भयो होला, तपाई अनुमान मात्र लगाउन सक्नुहुन्छ ।
बिहानीको चिसो सिरेठोलाई चिर्दै बाईक बेपत्तासँग हुइकिरहेको थियो । हावाको चिसो वहाबलाई छेक्न म साथी प्रकाश पौड्यालको पिठिँऊ पछाडी आफुलाई लुकाउने सक्दो प्रयास गरिरहेको थिए । कच्ची बाटोमा बाईक थोरै हलचल हुँदा पनि मित्रलाई दरोसँग समातेर सकेसम्म आफुलाई स्थिर राख्ने कोसिस गरिरहे ।
दुई ठुला पहाडहरुको काखबाट सडक अगाडि बढेको थियो र छेवैबाट रोशी नदी जोसजाँगर लगाएर सुसाउदै तलतिर बग्दै थिइन् । एका तिर नदिको सुरिलो सुसाहट, अर्को तिर खानी उत्खननको कर्कश आवज दुबै मेरा कानहरुमा एकैसाथ गुञ्जायमान भए । जसै हामी अगाडी बढौँ सडक छेउ टिप्परहरुको लामो लाईन थियो । नदिबाट आइरहेको चिसो हावाले हाम्रो आँतलाई भिजाइरहेको थियो भने उत्खनन स्थलबाट निस्किएका धुलोको बादलले आकश पुरै ढाकेको थियो । प्रकृति र मानवको यो अघोसित लडाईको चपेटामा बिचरा ति निर्दोश जीवजन्तु र वनस्पति कहिलेसम्म पर्ने हुन, सम्झेर उदेक लाग्यो ।
रोशी नदिबाट करिब ३० मिनेटको यात्रापछि हामी सुन्दर गाँऊ कलान्ती पुग्यौँ जहाँ हामीले भिम दाईलाई भेट्नु थियो । हाम्रो अबको बाँकी यात्राको गाइड उनै भिम दाई हुनुहुन्थ्यो । जादैँ गर्दा गाउँको ठाँउठाँउमा रोकिएर हामीले स्थानियहरुलाई भीम दाइको घर र लौठ सल्लाको बारेमा उनीहरुको जानकारी पनि सोधेका थियौं । कतिपय समय हामी माथि नै प्रतिप्रश्न भयो । हामीले यात्राको अभिप्राय स्पष्टसंग राख्यौं र आशङ्कालाई शान्त पार्दै आउनुको कारण बतायौँ ।
कुराकानीको शिलशिलामा थाहा भयो की यस अघिपनि ग्रीनहुड नेपालका अन्य साथीहरु सुरुका कार्ययोजनाको सिलसिलामा यो क्षेत्रमा थुप्रै पटक आइसकेका रहेछन् । त्यसैले यहाँका केहि मानिसहरुलाई थोरै बहुत भएपनि ग्रीनहुड नेपालको कामको बारेमा जानकार रहेछन् । ग्रिनहुड नेपालले लौठ सल्लाको तथ्याङ्क मात्र बटुल्दै थिएँन बल्की स्थानीयहरुलाई दिगो उत्पादन, परिवर्तन र संरक्षणको आवश्यकता पनि बुझाउदै थियो । जंगलमा रहेका लौठसल्लाको प्रजातिको संरक्षण र दिगो उत्पादनका ब्यबस्थित तरिकाहरु सिकाउने यो प्रोजेक्टको पनि अभिप्राय रहेको कुरा मलाई ग्रिनहुडका प्रोजेक्ट इन्चार्ज रेसु बस्याल बताउनु भएको थियो ।
प्रोजेक्टको सुरुवाति दिनहरुमा बस्याल र उहाँको टिममा केहि अलमलको अवस्था थियो किनकी यो कार्यक्रम मार्फत स्थानिय बासिन्दाको जीवनस्तर सुधार सम्मका लक्ष्यहरु सामेल थिए । यो कार्यक्रमलाई संरक्षण नेतृत्व कार्यक्रम (कन्जर्भेसन लिडरसिप प्रोग्राम)ले सहयोग गरिरहेको थियो । “लिडरसिप प्रोग्रामले समुहका सदस्यहरुलाई आर्थिक रुपमा मात्र सहयोग गरेन, उचित तालिम तथा सहजीकरणको पनि ब्यवस्था गर्यो र कार्यक्रम उचित ढंगले सुरु भयो,” बस्याल भन्दै हुनुहुन्थ्यो ।
संस्थाको यहि प्रतिबद्धताले गर्दा वातावरण संरक्षणमा गतिला कमदहरु पनि चालिए । काभ्रेकै ढुंगखर्क क्षेत्रको ‘चलाल गणेशथान’ मा सञ्चालन हुदै गरेको ढुंगा उत्खनन कार्यलाई रोकेर ३०० वर्ष पुरानो लौठ सल्लाको रुखलाई संरक्षण गर्न पनि संस्थाले काम गरेको प्रकाशले बताए । “हामी साँच्चै भाग्यमानी रहेछौ, कि शताब्दिऔँ पुरानो लौठ सल्लाको रुखको बारेमा हामीलाई सहि समयमा जानकारी भयो र सानै भएपनि काम गर्ने अवसर पायौं,” प्रकाशले बताए ।
“काम पक्कै सजिलो त थिएन नै तर संस्थाको अभिप्राय नै संरक्षणको वकालत गर्ने भएकाले किनकिन यो अन्यायलाई हामीले वेवास्ता गर्न सकेनौं,” ग्रीनहुडका सह संस्थापक कुमार पौडेलले म संगको पछिल्लो भेटमा बताउनु भएको थियो । ग्रीनहुड टिमले वकालत गर्ने क्रममा काभ्रे जिल्ला वन डिभिजन कार्यालयलाई जानकारी गराउनुको साथै केन्द्रिय सरकारलाई समेत झक्झकाउन “हेल्लो सरकार” कार्यक्रम मार्फत अबगत गरायो । जिल्ला वन डिभिजन कार्यालयले उचित समयमा तदारुक्ताका साथ यो कार्यमा अघि बढायो र संरक्षण अधिकारीलाई समेत फिल्डमा खटायो । फलस्वरुप ३०० वर्ष पुरानो लौठ सल्लाको रुख वरपर तारबार लगाउने र सो ढुंगा खानीका मालिकलाई क्षतिपुर्ति दिइने गरी संरक्षणको काम थालियो । अहिले उक्त रुख वरपर तारबार सहित एक होर्डिंग बोर्ड पनि लगाइएको छ जस मार्फत स्थानीयहरूले लौठ सल्लाको महत्वको बारे जानाकारी पनि पाएका छन् ।
शताब्दिऔँ देखि मानिसले लौठ सल्लालाई दुईधारे तरबारको रुपमा हेरेको पाइन्छ उचित प्रयोगले यो अचुक औषधि थियो भने अनुचित प्रयोगले प्राण पनि सजिलै लिन सक्दथ्यो ।
पचास ग्राम लौठ सल्लाको पातहरुले कुनै एक स्वस्थ व्यक्तिको मुटुको धड्कनलाई बन्द गराइदिन सक्छ । प्राचिन समयमा यसलाई “मृत्यु मेसिन”को रुपमा समेत प्रचलित गराइएको थियो जसको प्रयोग ब्रिटिस राजाहरु देखि सेल्ट्स, रोमानियाँ, ग्रीक, इजिप्सियन आदी सबैमा रहेको पाइन्छ । सेक्सपियरको “द ट्राजेडी अफ म्याक्बेथ”मा समेत लौठ सल्लाको तिखा पातहरुको चर्चा गरिएको पाइन्छ । प्राचिन क्रिस्चियन समुदायमा लौठ सल्लाका कलिला मुनाहरुलाई दिबंगत शरीरसंँगै पुर्ने चलन समेत रहेको पाइन्छ । पश्चिमाहरुले “इस्टर पर्व” मा जीतको संकेतको रुपमा समेत लौठ सल्लाको प्रयोग गर्दथे ।
लौठ सल्लाको प्राणघातक विशेषताहरुको बारेमा त अधिक्तम मानिसहरु जानकार नै थिए तर जीवन बचाउन समेत प्रयोग गर्ने कुरामा भने अनविज्ञ थिए । यो अवस्थालाई परिवर्तन गर्ने युवा वैज्ञानिक तथा वनस्पति विज्ञ बने ‘अर्थर बार्कक्ले’ जो अमेरिकी उत्तर पश्चिमी प्यासिफिक भूभागमा क्यान्सरको अचुक औषधि बनाउन सक्ने बिरुवाको खोजीमा निस्किएका थिए । १९६२ अगस्ट महिनाको चर्को घाममा अर्थर बार्कक्ले वासिङ्टन प्रान्तको जिफोर्ड पिन्चोट राष्ट्रिय जंगलमा एउटा चिटिक्कको सानो कोणधारी सल्लाको रुखलाई हेरिरहेका थिए । हार्भर्ड विश्व-विधालयबाट तालिम प्राप्त वनस्पति विज्ञ उनि कृषि अनुसन्धान सेवा अन्तर्गतको न्यु कर्पस रिसर्च शाखामा कार्यरत थिए जुन यु.एस.डी.ए अन्तर्गतकै एक बिभाग थियो । खोजीको क्रममा २५ फिट लामो लौठ सल्लाको प्रजाती भेटियो, ट्याक्सस् ब्रेभिफोलिया । त्यसलाई उनले बी-१६४५ नामाकरण गरे किनकी बार्कक्लेले भेटाएको यो १६४५ औँ नमुना थियो । बार्कक्ले लगायत उनका स्नातकोत्तर बिधार्थीहरुले यस सल्लाको काण्ड, फल साथै काण्डको बाहिरी बोक्राको नमुना संकलन गरेका थिए ।
बार्कक्लेले ट्याक्सस् ब्रेभिफोलिया रुखको नै नमुना बटुल्नुको कुनै ठोस् कारण भने थिएन किनकी उनि क्यान्सर उपचारमा उपयुक्त हुनसक्ने सम्पूर्ण बिरुबाहरु खोजी रहेका थिए । अमेरिकी अनुसन्धान संस्थानहरुलाई पनि यस प्रजातिको विरुवाको बारेमा त्यति जानकारी थिएन । यस प्रजातिका सल्लाहरु अमेरिका, युरोप तथा एसियाका भूभागमा प्रशस्त पाइन्छन् । प्यासिफिक यिउ अर्थात ट्याक्सस् ब्रेफिफोलिया ठिक्कको उचाई हुने सल्ला हो जसको रातो बोक्राहरु, फराकिला अनि एक हदसम्म घुमेका पातहरु हुन्छन् भने काण्ड घुमाउरा अनि चिटिक्क परेका हुन्छन् । विशेषगरी यस प्रकारका रुखहरु घना कोणधारी जङ्गलहरु, नदिको तटहरु, गहिरा ओसिला खोल्सोहरुमा पाइन्छ । यसका बलिया काण्डहरुको सिमित मात्र प्रयोग हुने रहेछ । यस भित्र ज्यादै थोरै मात्रामा प्राकृतिक पेस्टहरु पाइने र धेरै जसो पेस्टहरू विषालु हुनेहुदा यसको कम उपयोग भएको रहेछ साथै यसको वृद्धि विकासको दर निकै नै सुस्त पनि हुन्छ ।
बार्कक्लेले संकलन गरेका नमुनाहरू अन्ततः ४५०० किलोमिटर टाढा नर्थ क्यारोलिनामा अवस्थित रिसर्च ट्रयाङ्गल नामक संस्थामा पुग्यो तर सुरुवाती चरणमा हजारौं स्याम्पलहरु अनुसन्धान गर्न नै वर्षौ लाग्यो । तर यो अनुसन्धानमा डा. मन्रो वाल र डा. मंसुख वानीले उपलब्ध भएका नमुनाहरुलाई वर्षौसम्म परिक्षण गरिरहे र दशौं वर्षको अन्तमा उक्त नमुनाबाट ट्याक्सोल निकाल्न सफल भए । ट्याकसोलको नामाकरणमा ‘ट्याक्स’ शब्द “ट्याक्सस्” बाट लिईयो भने ‘ओल’ अल्कोहलको रसायनिक नामबाट राखियो । ट्याक्सोल पछि गएर विशेषगरी अर्बुद्ध (क्यान्सर) रोगको उपचारमा प्रयोग हुनेगरेको एक महत्वपुर्ण रसायन हो ।
ट्याक्सोल पत्ता लागेको करिब तीन दशकपछि मात्रै यसको उपयोगिता मानव स्वास्थ्यमा ‘रामवाण’ साबित भयो र विश्व स्वास्थ्य संगठनले पनि यसलाई उपचार नै गर्न नसकिने स्तन, पाठेघर, अन्डकोष, स्वास-प्रस्वासनलीमा हुने क्यान्सरको उपचारको लागी प्रयोग गर्न सकिने एक अचुक औषधिको रुपमा परिचित गरायो । यी रुखहरुबाट जीवन बचाउने ट्याकसोल बनाउने सिलसिलामा प्यासिफिक क्षेत्रमा रहेका लौठ सल्लाहरुको काण्डबाट बोक्रा निकाल्न थालियो । तब यी रुखहरु नै सिद्धिने खतरा भयो । एक स्रोतका अनुसार, २०० वर्ष लगाएर ४० फुट अग्लो रुखको बोक्राबाट केवल आधा ग्राम मात्र औषधि निकाल्न सकिन्छ । स्ट्यानफोर्ड युनिभर्सिटीका अँड्रे अभान्सिनो ट्याक्सोलको औषधि उपभोग गर्ने पहिलो बिरामी थिए, जसको उपचारको क्रममा सय वर्ष नाघेका ६ ओटा सल्लाका रुखहरुले आहुती दिनु परेको थियो । विडम्मना, कुनै मानिसको जीवनको लागी रुखहरु हजारौँ पटक चिराचिरा हुन बाध्य भए ।
अब उपचार एकजनाको गर्नु थिएन, करोडौको गर्नु थियो ।
यी रुखहरुबाट जीवन बचाउने ट्याकसोल बनाउने सिलसिलामा प्यासिफिक क्षेत्रमा रहेका लौठ सल्लाहरुको काण्डबाट बोक्रा निकाल्न थालियो । तब यी रुखहरु नै सिद्धिने खतरा भयो । एक स्रोतका अनुसार, २०० वर्ष लगाएर ४० फुट अग्लो रुखको बोक्राबाट केवल आधा ग्राम मात्र औषधि निकाल्न सकिन्छ । .
यता अमेरिकी वन सेवा बिभागले लौठ सल्लाको उपयोगको गर्ने नाममा जनशक्त्तिहरु भर्ति गराएर माउन्ट हुड राष्ट्रिय जङ्गलका रुखहरु काट्न र बोक्राहरु निकाल्ने अनुमति दिन थाल्यो । संयुक्त राज्य अमेरिकाको संघिय सरकारको मातहतमा रहेको जङ्गलले अत्याधिक माग रहेको चमत्कारीक औषधिको मागलाई पुरा गर्न सकेन । प्रशान्त उत्तरपश्चिममा रहेका वातावरणविद्धहरुले प्रशान्त क्षेत्रमा लौठ सल्लामाथिको ह्स्तक्षेप विरूद्धमा आवाज उठाए । भाग्यवश डा. रोबर्ट होल्टनले टाक्सोल उत्पादन गर्ने अर्धविश्लेषक तरिका प्रतिपादन गरे । उनको यो आबिष्कारले उनी तथा फ्लोरिडा स्टेट विश्वविधालयले ३३५ मिलियन डलर भन्दा धेरै रोयल्टि प्राप्त गरे जुन विश्वविध्यालयको लाईसेन्स् प्राप्त प्रविधिले दिलाएको सबभन्दा ठुलो धन राशि हुन गयो । वर्तमान समयमा डा. होल्टनको प्रविधि अनुसार लौठ सल्लाको पातहरुको प्रसोधन गरी 10-DAB III, उत्पादन गरिन्छ जुन ट्याक्सोल बनाउने एक मुख्य रसायन हो । .
ट्याक्सोलको उत्पादनको लागी कुन प्रजातीमा ज्यादा एकाग्रता पाइन्छ भन्ने विषयको खोजी हुन थाल्यदु जसबाट धेरै प्रतिशतमा रसायन निकाल्न सकियोस् । यस्तै सल्लाको प्रजतिहरुको खोजी र अनुसन्धान संसारभर फैलियो र अन्ततः नेपालसम्म आइपुग्यो । “नेपालमा पाईने रैथाने लौठ सल्ला अर्थात ट्याक्सस् माइरेई बाट निस्कने ट्याक्सोल क्यान्सरको उपचारको लागी प्रयोग गरिने औषधिहरु मध्ये उच्च एकाग्रता रहेको प्रजाति हो ”, हिमाल खबर पत्रिकामा राजेन्द्र मादेन लेख्नुहुन्छ । तर नामको दुबिधाले गर्दा नै लौठ सल्लाको ब्यापारमा ठुलो असर परेको छ किनकी माइरेई यिउ (ट्याक्सस् माइरेई) लाई इङ्लिस यिउ वा हिमालयन यिउको नामले बेच्दा यसको मुल्यमा धेरै अन्तर पर्न जान्छ । यसको बर्गिकरण र नामाकरणमै अन्योल भएतापनि अन्तराष्ट्रिय बजारको मागका कारण स्थानिय स्तरमा उत्पादनले दबाब दिएको छ जस्को प्रत्यक्ष प्रभाब बन जङ्गलमा रहेका माइरेई यिउमा परेको छ ।
सन् २०१२मा नेपाली वनस्पति शास्त्री रामचन्द्र पौडेलको नेतृत्वमा रहेको अनुसन्धान टोलिले हिमाली क्षेत्रमा रहेका लौठ सल्लाहरुको बर्गिकरण र फैलावटलाई स्पष्ट पार्न यसको बाहिरी बनावट, वंशाणुगत अध्ययन तथा मौसमी तथ्याङ्कहरू संकलन गरे । यस अध्यनबाट नेपालमा तीन प्रजातिका ट्याक्सस् रहेको पाईयो जसमा ट्याक्सस् वालिचियाना (हिमाली यिउ), ट्याक्सस् कोन्टार्टा ( पश्चिमी हिमाली यिउ) र ट्याक्सस् माइरेई ( माइरेइ यिउ) रहेका छन् । विस्तृत अध्यनबाट के थाहा भयो भने नेपालका तीन जिल्लाहरू सिन्धुली, काभ्रेपलान्चोक र मकवानपुरमा माइरेइ यिउ प्रजातिको पाइन्छ यद्यपि तिनको अबस्था संङ्कटापन्न रहेको हुनसक्ने दावी गरियो ।
तर यसको उचित तथ्याङ्कको अभाब भने रहदै आएको छ । नेपाल सरकारको तथ्याङक अनुसार प्रति बर्ष नेपालबाट करिब ४५,००० टन लौठ सल्लाका पातहरू विदेश निर्यात हुने गरेको छ तर ती पातहरूमा ‘माईरेइ यिउ’का पातहरूले कति अंश ओगट्छन् स्पष्ट छैन । लोपुन्मुख प्रजातीको आयात निर्यातलाई हेर्ने अन्तराष्ट्रिय संयन्त्र साइटिसको अनुसुचि २मा राखिएतापनि उचित निगरानीमा प्रायः सबै बेखबर छन् । थोरै व्यक्तिहरुलाई मात्र यो सल्लाको उपयोगिता बारेमा थाहा छ, त्यसमध्ये पनि सिमित व्यक्तिहरुलाई यसको उत्पादनको बारेमा थाहा छ र मात्र केहि संरक्षणमा चिन्तित छन् ।
उँचो आवाज, बोलिरहने बानि , कलेटी परेका ओठ, भिम दाइमा म एक परिपक्क नेपाली प्रतिबिम्ब देखिरहेको थिए । स्थानीय डेरीमा एक क्यान दूध बेच्न पुगेका उनीलाई हामीले त्यहीँ भेटेका थियौँ । एक हातमा आलुमुनियम क्यान र अर्को हातमा चुरोटको ठुटो समातेका भिम दाइले प्रकाशलाई चिनी हाल्नु भयो । उहाँ सँगको साक्षात्कार पछीको केहि सामान्य संम्वाद पछी हामी बाटो तताउने सुरमा थियौँ । बाटो भिम दाइको सानो अनि चिटिक्कको घर हुदै जान्थ्यो । घर पुगेपछी नेपाली चलन नै हो खाजा खानाको लागी बोलाउने । अनि भिमदाई परे पक्काको नेपाली । दालभातको निम्तो आइहाल्यो । औपचारिकताको लागि नाई नास्ती गरेपनि अन्ततः हामी खाना खान उक्लियौँ, भोक जो लागेको थियो । विहानको खानापछी वन छिर्ने तयारी थियो त्यसैले जुत्ताका तुनाहरु कसीए । दाहिने हातमा खुर्पा समाई भिम दाइ हामीलाई जंगलको बाटो डोर्याउदै हुनुहुन्थ्यो । काम सामान्य थियो, जंगलमा भएका लौठ सल्लाहरु खोज्नु, तिनको मोटाई नाप्नु, ऊचाईको अनुमान लगाउनु र तिनिहरूको स्थान टिपोट गर्नु ।
पहाडको भिरालो बाटो सार्है घुमाउरो अनि झारपातले ढाकेको । तीन दिन अघि मात्र भुमिडाँडाको यो वनले भिषण हिँउदे वर्षा भोगेको थियो । जसै हाम्रो वन यात्रा गहिरियो भिम दाईको दुख पनि बढ्दै थियो । उहाँ बाटो बनाउदै हुनुहुन्थ्यो । वर्षाको कारणले बाटो चिफ्लो, साँघुरो अनि अप्ठ्यारो बनेको थियो । हावाले भाँचेर झारेका रुखका हाँगाहरु काट्दै, छाट्दै हाम्रो लागी सजिलो बाटो बनाउने काम त्यति सहज पक्कै थिएन । लगभग एक डेढ घन्टाको कष्टकर जंगल यात्रापछी बल्ल हामी अनुसन्धाको लागी खोजिएको रुखको सामुन्ने पुगेका थियौँ ।
रुख सायद २० फिट जति अग्लो थियो अनि त्यसका पातहरु उनिऊ जसरी फैलिएका थिए । वास्तवमै लौठ सल्लाको यस प्रजातिसँगको यो मेरो पहिलो भेट थियो । जङ्गलका हजारौ रुखहरुसंग काधमा काध जोडेर आकाश छुन उभिएको यो रुख बाहिरबाट हेर्दा बिल्कुल सामान्य देखिन्थ्यो तर आफु भित्र क्यान्सरको अचुक औषधी बनाउने फर्मुला लुकाएको थियो ।
प्रकाशले आफ्नो झोलाबाट नाप्ने फित्ता निकाले र त्यसको एउटा छेउ मलाई समाउन दिए । मैले फित्तालाई रुखको वरपर एक फन्को लगाए । रुखको उचाई कति थियो ठ्याक्क भन्ने अवस्था थिएन त्यसैले हामीले सरदर अनुमान मात्र लगायौँ ।
“कम्त्तिमा २० फिट त छ होला है ! भिम दाइ ?” प्रकाशले सोधे ।
“अ ! १८-२० फिट त पक्कै हुनु पर्ने हो ” भिमदाई सुस्तरी बोले ।
उचाई पनि डायरीमा टिपी प्रकाशले ब्यागबाट जी.पी.एस् निकाले र सिग्नल राम्ररी टिपोस भन्नका लागी केहि समय त्यसलाई हेरेर घोत्लिए । सानो मोबाइल जस्तो जी.पी. एस्. बाट निस्किएको जोएस्टिकलाई घुमाएर सो स्थानको देशान्तर, अक्षाशं र भौगोलिक उचाइ पनि डायरीमा टिपे । यति गर्नको लागी हामीलाई पाँच मिनेट पनि लागेन तर यहि काम हामीले आज दिनभर गर्नु पर्ने थियो । ‘बोरिंग हुन्छ कि क्या हो?’ म मनमनै सोच्न थाले ।
“झ्याउ लाग्दो छैन त सौगात ?” प्रकाशले मेरो भावना पढेर मध्य दिनमा मलाई सोधे ।
“छैन, छैन,” मैले ढाँटे । “यस्तै हुने हो नी अनुसन्धान भन्या । मज्जा आइराछ यार ।”
भुमिडाँडाको भिरालो वनपाखामा त्यो दिन यसैगरी लडिबुडी चलिरह्यो र दिनको आखिरमा पुगनपुग ३० वटा वयस्क रुखहरुको तथ्याङ्क सङ्कलन भयो । रुखहरु नजिक थिएनन् । कुनै एउटा कुनामा हुन्थे त अर्को रुख अर्को डाँडोको कुनामा । धन्न भिम दाइ हामीसँग हुनुहुन्थ्यो र उहाँलाइ सबै रुखको बारेमा जानकारी थियो ।
केहि लौठ सल्लाका रुखहरु जरै देखि काटिएका थिए । ग्रिनहुडका अनुसन्धानकर्ताका अनुसार यस प्रजातीको व्यवस्थापन तथा दिगो उत्पादनका नियमावली तथा प्रक्रियागत रिपोर्टहरु उपलब्ध थिएनन् । जसको कारण मनपरी रुख काट्ने र भएका रुखहरुको पनि संरक्षणमा चासो नदिएको पाइयो । लौठ सल्ला वयस्क हुन नै दशौं वर्ष लाग्छ र यसको प्राकृतिक परागसेचन प्रकृया पनि जटिल छ । यसका लागि भाले विरुवा र पोथी विरुवा दुवै नजिकैको स्थानमा हुन आवश्यक हुन्छ । तर स्थानीयहरूलाई यो विषयमा त्यति चासो थिएन । उनीहरुलाइ प्राय उपयुक्त मोलमा बेच-बिखन गर्न पाईन्छ कि पाइदैन भन्नेमा मात्र चासो हुन गयो । फेरी उनीहरुको पनि आफ्नै ब्यथा थियो । यसको मोल प्राय तेस्रो पक्ष डिलरले आफ्नो मर्जी अनुसार तोकिदिने भएकाले लौठसल्ला खेतिमा आकर्षित किसानहरु पनि मारमा परेको देखियो । कतिपय औषधि उत्पादक कम्पनिहरुले पछिल्लो समयमा आवश्यकता अनुसार आफ्नै नर्सरीमा उत्पादन गर्न थालेपछि स्थानीयहरुलाई को आफ्नो घरसम्म आइदिने र कसले किनिदिने भन्ने अन्योल पनि बढेको बुझियो र जसको कारण पनि वेवास्ता बढ्न गयो ।
समस्या धेरै थिए त्यसैले समाधानको उपाय खोज्दै ग्रीनहुडका अनुसन्धानकर्ताहरुबाट योजना बन्न थाल्यो । “स्थानीयहरूको परम्परागत ज्ञानहरुलाई समेत समेट्दै लौठ सल्लाको ब्यवस्थित उत्पादन तथा संरक्षणको ब्यवहारिक पुस्तक समेत उपलब्ध गराउने हाम्रो तयारी छ”, पछिल्लो वार्तालापमा रेसु बस्यालले मलाई भन्नुभयो । तर नर्सरीबाट निकालिएका सल्लाहरु त हुर्काउन सकिएला तर जंगली लौठ सल्लाको संरक्षणमा भने को जागरुक हुने?
कुमार पौडेल तर्क गर्नु हुन्छ कि फाइदामुलक ढंगले मात्र सोच्दा नकारात्मक असरहरु पनि बढ्न सक्छ । प्रथमत नर्सरीको प्रयोगका क्रममा जंगली लौठसल्लाको जथाभावि फडानी बढ्न सक्छ । कुनै एउटा रुखबाट हजारौँ बडहरु निस्केर बिरुवाहरू बनाउन सकिने भएकाले यसको काटछाँट हुनेसक्ने सम्भावना बढ्न सक्छ । फेरी वनस्पति प्रसार (भेजिटेटिभ प्रोपागेशन) प्रकृयाबाट निकालिएका बिरुवाहरुको पनि आफ्नै जटिलताहरू हुन्छन् । त्यस्ता विरुवाहरुमा वशांणुगत विविधता लामो समयको अन्तराल पछि हराउदै जाने सम्भावना रहन्छ फलस्वरुप विरुवाको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने र रोगब्याधिको संग्क्रमण फैलने खतरा बढ्दछ । यसलाई भनिन्छ ‘इन्ब्रीडिन्ग डिप्रेसन’ जसले यस्ता लोपुन्मुख प्रजातीलाई लोप हुने खतरा तर्फ डोर्याउछन् ।
ग्रीनहुड टिम संरक्षणको लागी बिभिन्न तरिकाले वकालत गर्दै जागरुक्ताका गतिशिल कार्यहरूमा संलग्न रहेको छ । उक्त टिमले सल्लाको फसल उत्पादनको लागी दिशानिर्देशिकाको पहिलो मस्यौया प्रकासित गरेको छ र यसको थप संस्करण र प्रकाशनको लागी पनि काम गर्दै छ ।
एउटा ठुलो रुखको छहारीमा शीतल ताप्दै गर्दा दिनभरीको थकानलाई बिर्सी हामी खाजा खाने तर्खरमा थियौँ । कम्मरमा दिनभर भिरेको झोलालाई छेउमा बिसाएर वाई-वाई चाउचाउका पोकाहरू खोलिए साथै फ्रुटीका प्याकेटहरू प्वाल पारिए । यहि नै आजको जङ्गल यात्राको खाजा थियो । खाजा खादै कुराकानी गर्दा भिमदाईले आफ्नो जीवनका विभिन्न किस्साहरु सुनाउनु भयो । उहाँको दैनिकी, खेतीपाती, छोराछोरी अनि परिवारका कुराहरु सुनिरहदा एक गाँउले मेहेनती किसानको गौरवको कथाको झल्को दिइरहेको थियो ।
दुई घण्टा पछी हाम्रो त्यो दिनका लागी पुर्वनिर्धारित काम लगभग सकिएको थियो । बेलुकी पख वनबाट फर्कदै गर्दा हामी बिहान गएकै बाटो फर्कियौँ । भिम दाइको श्रीमती इश्वरी भाउजू बारीमा एक्लै काम गर्दै हुनुहुन्थ्यो । सल्लाका रुखहरू बारे खोजकर्ताहरुलाई घुमाउनुको साथै भिम दाईका अरु पनि महत्वपुर्ण धेरै जिम्मेवारीहरू थिए । गोठमा ४ भैसी, ८ बाख्राहरु तथा केहि कुखुराहरु थिए । आज दिनभरी भिमदाई हामी सँगै हुनुहुन्थ्यो अनि बस्तुभाउहरू धेरै नै भोकाए होलान् पनि? हामीसँग बिदाबारी भएर भिम दाई भाउजूलाई काममा सघाउन दौडनु भयो । घाम पश्चिम क्षितिजमा डुबिसकेको थियो । पहाडका जङ्गली खोँचहरू दिन छिटो ढल्दै थिए र केहि बेरमा झमक्क साँझ पर्नेवाला थियो । प्रकाशले एक्सेलेटर बेजोडले बटार्यो, फर्किनु जो थियो ।
काभ्रे जिल्लामा भुमिडाँडा लगायत ढुंगखर्क क्षेत्रमा तथा सिन्धुली अनि मकवानापुर जिल्लाहरुमा पनि ग्रीनहुड नेपालले माइरेई यिउको कार्यक्रमहरु सफल रुपमा सक्काएको कुरा महिना दिन पछी प्रकाश संगको टेलीफोन वार्तालापबाट जानकारी भयो । यो सानो मिसनमा मेरो संलग्नता देखाउन पाएकोमा म पनि गमक्क थिए । वानेश्वर स्थित कार्यालयमा मेरो पछिल्लो भ्रमणमा संजयले उत्साहित हुदै मलाई एउटा भिडियो क्लिप र भिडियो म्यागाजिन देखायो । “हाम्रो पुर्वतयारी कुनै स्कुलमा पुगेर कार्यशाला गर्नु थियो तर कोरोना महामारीले गर्दा त्यो सम्भब भएन । बरु बिकल्पमा टिमले भिडियो र किताबहरु छाप्ने निधो गर्यो,“ संजयले बताए । उक्त भिडियोमा एउटा बालकले लौठ सल्लाको रुखसंग गरेको संम्बादलाई कार्टुनाइज गरिएको थियो । रुख बालकलाई आफ्नो मर्म बताउदै थियो । ‘पक्कै भिडियो धेरैले संदेशमुलक बन्नेछ”, मैले प्रतिक्रिया जनाए । ग्रीनहुड टिमले उक्त भिडियो र किताबहरुलाई सामाजिक सञ्जालबाट जारी गराउनुको साथै आउने आगामी गोष्ठीहरुमा सामेल गर्दै अघि बढाउने लक्ष्य पनि लिएको थियो ।
रेशु बश्याल ग्रीनहुडको आगामी कार्यक्रमहरु अनि यस क्षेत्रमा गर्न सकिने परिवर्तनलाई लिएर सकारात्मक हुनुहुन्छ । स्थानिय स्तरका समुदायलाई सशक्त्तिकरण गरी क्यान्सर प्रतिरोधी यिउलाई दिगो अनि वातावरणमैत्री ढंगले फसल उत्पादन गर्न सकिनेछ र जंगलमा रहेका यिउहरुको संरक्षण पनि गर्न सकिनेछ । “हामी यसमा थप अध्ययन गर्दै छौं । स्थानीयहरूलाई यस विषयमा अझ बढि जानकार अनि शिक्षित बनाउदै छौं र सायद यी कदमले लौठ सल्ला संरक्षणमा परिवर्तन पक्कै ल्याउने छ ।”
“रुख जसले अनगिन्ति मानव जीवन बचाँयो, त्यस रुखलाई पनि बचाईराख्नु एउटा मानवले गर्न सक्ने वास्तविक सत्कर्म हो ।”