लक्ष्मण खनाल हराएका थिए ।
नेपालको सुदूर पश्चिमी छेउमा पर्ने अपी नम्पा संरक्षण क्षेत्रको घना जंगलमा आसामी बाँदर (चट्टानी बाँदर)को पछि दौडदा दौडदै कुन बेला वन सहयोगीलाई गुमाउन पुगे, खै, उनलाई हेक्का नै भएन । ती बाँदर हुलको एक झलकले खनाल यति प्रफुल्लित थिए की वन सहयोगीको कुरै नसुनी हावासंगै दौडिन पुगे । नदौडीउन पनि किन ? तीन दिनको पट्यार लाग्दो बस यात्रा र बाँकी तीन दिन जङ्गलको कठिनयात्रा आखिर यहि क्षणको लागि त थियो ।
त्यो हतासपुर्ण दौडधुप पछि अन्ततः उनि विश्राम गर्न सक्थे र ती बाँदर हुललाई एकटकले हेरिरहन सक्थे । किन्तु स्थान कहालिलाग्दो थियो । खुट्टा छिस्रिक्क चिप्लियो की शरीर पहराबाट हुइकिदै फेदिमा सुसाएको नदिमा बज्रिन सक्थ्यो । भिराला पहाडका यस्ता अक्करे चट्टानहरु यी बाँदरहरुको मनपर्ने थाकथलो हो, जसले चितुवा जस्ता हिम्स्रक मांसहारी जनावारबाट शरण दिन सक्थ्यो । सानो गुराँसको चेपमा आफुलाई अड्याउदै खनाल ती बाँदरहरुको व्यवहार अवलोकन गर्न थाले । बाँदरका हुल अन्यत्र लाग्न थालेपछि उनि घिस्रिदै तिनीहरुको वासस्थानमा झर्छन र भख्खरै बिस्ट्याएका दिशाको नमूना सङ्कलन गर्छन् । यो नमुना उनको अनुसन्धानको लागि सञ्जिवनी बुट्टी सरह हो ।
“अध्ययनको यो पाटो, मेरो लागि गर या मर बराबर थियो,” उनी भन्छन्, “अनुसन्धानाको अस्तित्व नै यी नमुना सङ्कलनमा भर पर्थ्यो ।”
र मुल्य ? बस् केहि दिनको भोकप्यास, थोरै चोटपटक, अनि कठिनाई । "यति भोग्न त म सक्किहाल्छु नि । नत्र आफुलाई पर्यावरणविद् कसरी भनुँ ?,” खनाल मुस्कुराए । त्रिभुवन विश्वविद्यालयका प्राइमेटोलोजिस्ट र आनुवंशिक विश्लेषक खनालका लागि यी अक्षम्य भूभागमा बाँदरको लागि दौडधुप गर्नु उनको दुई बर्षको अथक प्रयासको सानो भित्री कथा मात्र थियो । उनको अनुसन्धानको तरंगीत पार्ने नतिजा त यस वर्षको प्रारम्भमा जर्नल ‘जुलोजिकल रिसर्च’मा प्रकाशित भैसकेको थियो । अनुसन्धान पत्रले भन्थ्यो “आनुवंशिक अनुसन्धान अनुसार नेपालका आसामी बाँदर (नेपाल पपुलेसन अफ मकाका आसामेन्सिस्) खासमा फरक प्रजातिको बाँदर हुन् ।” यो निष्कर्षले प्राणीशास्त्रको अनुसन्धानको क्षेत्रमा पक्कै पनि फरक तरङ्ग पैदा गरेको थियो ।
नेपालका रैथाने आसामी बाँदरहरु उच्च संरक्षित बाँदर प्रजाति भित्र पर्दछन् । यिनिहरु हेर्दा रातो बाँदर (रेसस मकाक)सँग हु-बहु मिल्छन् । भारतीय उपदिपमा रेसस बाँदर मठमन्दिर तथा गाउँशहरमा बस्न रुचाउछन् । तर आसामी बाँदरहरु शान्त र लजालु स्वभावका हुन्छन् । यिनिहरुको शरीर ठूलो र भारी हुन्छ भने रातो बाँदरको तुलनामा पुच्छर र जननांग केही लामो हुने गदर्छ ।
यी र यस्तै शारिरीक बनावटको अध्ययनको आधारमा सन् १९९० को उत्तरार्धमा नेपालका अग्रणी बाँदर अनुसन्धानकर्ता मुकेश कुमार चालिसेले आसामी बाँदरहरुको नेपालमा रहेको झुण्ड वास्तवमा फरक प्रजाति हुन सक्ने अनुमान गरेका थिए ।
इतिहासकै कुरा गर्दा सन् १८४० ताका नेपालको जिरी क्षेत्रबाट अनुसन्धानकर्ता तथा कुटनीतिज्ञ ब्रायन हटन हड्सनले पहिले पटक यो बाँदरको नमूना सङ्कलन गरेका थिए । सन् १९९७ मा जब चालिसेले सिकागो क्षेत्रीय संग्रहालयको भ्रमण गरे, उनले त्यँहा नेपालबाट संकलित सो नमूना देखे । “उक्त नमुनालाई रातो बाँदरजस्तै देखिने बाँदर भनेर लेखिएको थियो ।" चालिसेले द जाइलमलाई बताए । एक पटक पश्चिमी नेपालको गोरखामा स्थलगत अवलोकनमा जाँदा पनि चालीसेले यस्तै बाँदरको प्रजाती देखेको कुरा पनि सम्झीए ।
संग्रहालयमा देखेको उक्त नमूनाले चालिसेलाई झक्झकायो । सिकागोबाट फर्के पछि, उनले यससँग सम्बन्धित अनुसन्धानात्मक लेख र रचनाहरुको अध्ययन गरे र आफ्नो अन्वेशणको योजना बनाए । उनि पुर्व नेपाल तर्फ लागे । संखुवासभा जिल्लामा एक महिना लामो सर्भेमा उनले एक मृत बाँदर फेला पारे । त्यो आसामी बाँदरको आकार र शारीरिक बनोट मापन गर्दा, भारत तथा थाईल्याण्डबाट प्राप्त आसामी बाँदरको तथ्याङ्कहरू भन्दा केहि फरक रहेको पाइयो । "यो भिन्नताले मलाई आश्वस्त पार्यो कि नेपाली रैथाने आसामी बाँदरहरु अन्य आसामी बाँदरहरुका कि उप -प्रजाति हुन् कि बिल्कुलै फरक प्रजाति हुन्," चालिसेले बताए ।
आनुवंशिक अध्ययन साधन पक्कै पनि त्यो बेलामा उपलब्ध थिएन । खनाल, जो पछी चालिसेकै विधार्थी बन्न पुगेका थिए, अन्ततः आसामी बादरकै अनुसन्धानलाई पछ्याउने भए । उनले आफ्नो विद्या वारिधि सोधकार्य (पीएच.डी. थेसिस)मा नेपालका रैथाने आसामी बाँदरहरुको पनि पूर्वी र पश्चिमी जनसंख्याको बीच सम्भावित आनुवंशिक सीमांकन बनाउन नदी प्रणालीहरुको प्रभावको बारेमा अनुसन्धान गरे ।
पूर्वी र पश्चिमी बाँदरहरु बिचको आनुवंशिक भिन्नता खास ठुलो देखिएन तर त्यो अनुसन्धानले उनलाई यी बाँदरको विकासक्रमको इतिहास नियाल्ने मौका दियो । खनाल भन्छन्, “यिनिहरुको नेपाल आगमन आजभन्दा लगभग ५० हजार वर्ष जति पहिले भएको रहेछ ।” किनकी नेपालका रैथाने आसामी बाँदर अन्य कुनै उप-प्रजातिहरूसँग बिनामिश्रण लामो अन्तरालसम्म भौगोलिक सिमाहरुमा थुनिएका थिए, त्यसैले यिनीहरु पक्कै नँया प्रजाति या उपप्रजाती हुन सक्छन् । यसरी खनालको शोधकार्यले यो नयाँ अनुसन्धानको लागि उत्साह ल्याएको थियो ।
तर ढुक्कको निष्कर्षको लागि खनाललाई सकेसम्म धेरै नमुनाहरू चाहिएको थियो । त्यसैले नेपालमा आसामी बाँदरहरु पाइने सबै ठाउँहरुबाट यसको डी.एन.ए नमुना संकलन गर्न उनलाइ लगभग दुइवर्ष लाग्यो । नमुना संकलनको सिलसिलामा उनि पश्चिमी नेपालको भारतिय सिमामा रहेको अपी नम्पा संरक्षण क्षेत्रदेखी पूर्वमा बंगलादेशबाट आधा दिनको दुरिमा रहेको धनकुटाको मुलघाट क्षेत्रसम्म पुगे । त्यस दौरानमा उनले बाँदरको ४० भिन्दाभिन्दै हुलहरू भेटे र २७७ वटा ताजा दिशाका नमुनाहरु संकलन गरे ।
प्रत्येक अनुसन्धान यात्रामा उनिसँग एउटा झोला हुन्थ्यो जसमा जि.पि.एस ट्र्याकर, नोटबुक, पेन, पेनसिल, रसायनको सानो डब्बा र केहि थान ट्युबहरु हुन्थे । गलामा क्यामेरा र दुरबिन झुन्डिएको हुन्थ्यो । बट्टाको रसायनले नमुनाहरुको डि.एन.ए लाई वरफमा नभए पनि सुरक्षित राख्न सक्थ्यो ।
खनालले ताजा दिशाको नमुनाहरुबाट श्लेष्म (मिउकस्) कोशिकालाई निर्मलिकरण गरिएको कपासमा भिजाएर लाइसिस् मिश्रणमा मिलाउथे । उक्त नमुनाबाट डि.एन.ए निकाली गुणात्मक बृद्धि गरी, त्यसको माइटोकन्ड्रिया र वाइ-क्रोमोजोमको अध्ययन गर्थे । माइटोकन्ड्रिया भित्र हुने कुल उत्परिवर्तनको मात्रा अध्ययन गरेर, त्यसको विकासक्रमको दुरी पत्ता लगाउन सकिन्छ । अर्थात दुई समान प्रजातिहरू बिचको आनुवंशिक समानता नाप्न सकिन्छ । खनालको अध्ययनबाट नेपालका रैथाने आसामी बाँदरहरू खासमा पुर्वीय आसामी बाँदरको उप-प्रजातिहरुसँग नजिक नभई भारतको अरुणाञ्चलमा पाइने बाँदर मकाका मुन्जला र तिब्बतमा समेत पाइने सेतो गाला हुने बाँदर मकाका ल्युकोजेनिससँग पो नजिक रहेको पाइयो ।
“यो अध्ययनको नजिता मैले अपेक्षा गरे अनुसार नै छ,” अध्ययनमा संलग्न नभएका जर्मन प्राईमेट सेन्टरका प्राइमेटोलोजिस्ट क्रिस्टियन रुसले बताए । रुसले दक्षिणपुर्वी एसियाका भियतनाम, म्यानमार र थाइल्याण्डबाट नेपाल र भुटानसम्म फैलिएका आसामी बाँदरहरुको संग्रहित नमुनाहरुको अध्ययन गरेका छन् । रुसको दृष्टिकोणमा नेपालमा रहेका यी बाँदरहरूको बाहिरी बनोट अन्य भन्दा फरक रहेको छ र यिनिहरुको वासस्थानको वितरणमा पनि अन्तर देखिन्छ । “हामीले यिनिहरु फरक रहेको कुरा पहिचान त गरेका थियौँ तर उचित आनुवंशिक अध्ययन भने गर्न सकेका थिएनौँ । म खुसी छु कि मेरा सहकर्मीहरुले अन्ततः यो काम अघि बढाउनु भएको छ ।”
“जनावरहरूको पुर्ण वंशाणुगत अध्ययनले उनिहरुको शुक्ष्म आनुवंशिक संरचना र यसले बर्गीकरणमा पार्न सक्ने प्रभावको विस्तृत जानाकारी दिने गर्दछ, ” वासिङ्गटन विश्वविद्यालयका प्रोफेसर तथा अध्ययनका सह-लेखक प्राइमेटोलोजिस्ट राण्डल काइज भन्छन् । “यो सोध तथा आज सम्म भएका अनुसन्धानको आधारमा भन्न सकिन्छ की नेपालमा आसामी बाँदरको फरक जनसँख्याको विकासको आधारमा यसको प्रजातिगत बर्गीकरणमा पुर्नमूल्याङ्कन गर्नुपर्ने देखिन्छ ।” सोध पत्र अनुसार नेपालका रैथाने आसामी बाँदरहरुमा अन्य भागमा पाइने बाँदरहरुको तुलनामा कम आनुवंशिक विविधता रहेको छ र त्यसैले यो प्रजातिको दीर्धकालिन अस्तित्व संकटमा पर्न सक्ने बताएको छ । “अनुसन्धान पत्रको अन्त्यमा हामीले यी बाँदरहरूको संरक्षणको स्थितिको पुर्नमूल्याङ्कन गर्न पनि सुझाव दिएका छौँ,” खनालले उल्लेख गर्नु भयो ।
ट्याक्सोनमिस्टले प्रजाति छुट्याउनको लागि एक निश्चित सीमालाई आधार मान्दछन् । यदि कुनै एक प्रजातिको अर्को प्रजातिसँग आनुवंशिक भिन्नता दुई प्रतिशत वा त्यो भन्दा अधिक छ भने ती दुईलाई फरक प्रजातिको रुपमा ब्याख्या गर्न सकिन्छ । तर आनुवंशिक तथ्यांक साथै उचित शारिरीक संरचना र पारिस्थितिक पद्धतिको मूल्याङ्कन पनि प्रजाती वर्गीकरणका महत्वपुर्ण सूचक हुन् । खनाल र उनको समुहको अबको उद्वेश्य यी बाँदरहरुको पुर्ण वंशाणुगत अनुक्रम गर्नु रहेको छ साथै यसको आनुवंशिक, व्यवहारिक, बनावट र पारिस्थीतिक तथ्याङ्कहरूको आधारमा पूर्ण अध्ययन गर्नु रहेको छ ।
खनालले यस प्रजातिको संरक्षणको लागि उचित कार्ययोजना तयार गर्न र यस सम्बन्धि थप अध्ययन गर्न/गराउन सरकारी निकाय तथा संरक्षण संघ संघठनहरूलाई आग्रह पनि गरेका छन् । “यो यस्तो प्रजाति हो जुन हाम्रो क्षेत्रमा विकसित भयो । यो हाम्रो लागि अर्को गौरबको कुरो हो,” खनाल बताँउछन् ।
“आँखै अगाडी अर्को प्रजातीलाई अध्ययन तथा संरक्षणको अभावमा लोप हुन दिने छुट अब हामीलाई पक्कै छैन ।”